बिभिन्न क्षेत्रमा रहेर पृथक अनुभव हासिल गर्नु भएका सदस्यहरुलाई मूलधारमा जोडी सामुहिक लगानीबाट उच्चतम प्रतिफल प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो मूख्य सोचाई हो । यहि सोचाईलाई आत्मसाथ गर्दै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ तथा बित्त, सञ्चार, ब्यापार, ब्यबसाय, उर्जा र अध्ययन अनुसन्धान गरी ९ वटा महत्वपूर्ण बिषयगत परियोजनाका क्षेत्रमा लगानी बढाउने र कम्पनीका प्रत्येक सरोकारवालाको अधिकतम हित प्रबद्र्धन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा नै योगदान पुर्याउन सकिन्छ भन्ने बिस्वासका साथ यो संस्था स्थापना भएको हो ।
धेरै पटकको बसाई छलफल तथा बिचार विश्लेषण पश्चात यो कम्पनी बुटवलमा कार्यालय रहने गरी बि.स. २०७३ साल ज्येष्ठ ९ गते स्थापना भएको थियो । कम्पनी स्थापनाका ५ बर्ष भित्र हामीले २०७४ माघ १० गते भिजन लुम्बिनी टुर्स एण्ड ट्रावल्स, २०७५ आस्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी दर्ता गरि कार्यको सुरुवात गरेका हाैँ ।
टुर्स एण्ड ट्रावल्सले बुटवल र काठमाण्डौबाट तथा यातायात कम्पनीले बुटवलबाट आफ्ना कार्यहरु अगाडि बढाई रहेका छन । उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाँउपालिकामा २५ मे.वा.को सेती नदी जलविद्युत आयोजना सुरुवात गरेको छ । यसले भिजन लुम्बिनीको एक महत्वपूर्ण अंगको रुपमा कार्य गरेको छ । भिजन लुम्बिनी उर्जा कम्पनीमा अधिकांश सदस्य भिजन लुम्बिनी लिमिटेडका रहनु भएको छ । यसका समग्र लक्ष्य उदेश्य तथा कार्यहरु शेयर सदस्यहरुको बृहत्तर हितका लागि लक्ष्यित छन र भबिष्यमा समेत सोहि उद्देश्यका लागि दृढतापूर्बक हामी लागिरहनेछौँ । हामीले कम्पनीको स्थापना कालमा यो संस्थालाई एक बहुउद्देश्यीय कम्पनीको रुपमा संचालन गर्ने उदेश्य राखेका थियौ सोहि अनुरुप यसका कार्यक्रमहरु अगाडि बढेका छन ।
भिजन लुम्बिनी टुर्स एण्ड ट्रावल्स
भिजन लुम्बिनी पब्लिक लिमिटेडको अर्को सहायक कम्पनी भिजन लुम्बिनी टुर्स एण्ड ट्रावल्स हो । यस कम्पनीले आफ्ना सेवाहरु बुटवल तथा काठमाण्डौमा रहेका कार्यालयबाट संचालन गरेको छ । पर्यटकीय स्थल बुद्धजन्मभूमीलाई मध्यनजर गरि यसको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा पुर्याउने उद्देश्यका साथ सुरु गरिएको यो कंपनीले बुटवलमा आफ्ना गतिविधिहरु उल्लेख्य तरिकाबाट संचालन गरि लिड कम्पनीको रुपमा आफूलाई उभ्याउन सफल भएको छ । भिजन लुम्बिनी टुर्स एण्ड ट्रावल्स लि. तर्फको कार्य सञ्चालनमा कोभिड–१९ महामारीको कारणबाट केहि समय असहज परिस्थितिको सृजना भै यसको संचालनमा कठिनाई देखापर्यो । हाल लकडाउनको समाप्ति पछि बुटवल र काठमाण्डौबाट सन्तोषजनक रुपमा संचालन भएको छ ।
भिजन लुम्बिनी यातायात कम्पनी प्रा.लि.
भिजन लुम्बिनी अन्तर्गतको अर्को संस्था भिजन लुम्बिनी यातायात कम्पनी प्रा.लि.हो । नेपाल सरकारले यातायात ब्यबस्थामा सिन्डिकेट प्रणाली खारेजगरी सर्बसुलभ तरिकाबाट स्तरीय सेवा संचालन गर्ने निति अबलम्बन गरे अनुरुप हाम्रो कम्पनीले थ्रिप्ट मल्टिप्रपोज कम्पनी काठमाण्डौसंग सहकार्य गरी मोफसलमा पहिलो पटक नगर स्तरमा ए/सी जडित आधुनिक सुबिधा सम्पन्न १० वटा बसहरु संचालनमा ल्याएको थियो । जसले गर्दा पर्यटकीय स्थल लुम्बिनीलाई पर्यटन प्रबर्धनमा टेवा पुगेको थियो भने कंपनीको गरिमालाई अझ उचो बनेको महशुस भएको थियो ।
यसको केहि समय राम्रो संचालनमा ल्याउन सफल भएकै हो । यहाँका अधिकांश यात्रुहरु भिजन लुम्बिनी यातायात कम्पनी द्वारा संचालित बसको प्रतिक्षामा स्टेसनहरुमा पर्खिरहेको देख्दा हामी कम्पनीसंग आबद्व भएका सदस्यहरुलाई छुट्टै आनन्दको महशुस हुने गर्दथ्यो । कोभिडको बन्दाबन्दिको बिचमा बुटवलमा अलपत्र परेका सयौ यात्रुहरुलाई यिनै बसहरुको सहायताले निस्वार्थ रुपमा उद्धार गरि गन्तब्यमा पुर्याउन सफल भएका थियौ ।
यसै समयमा विश्वमानै देखापरेको कोभिड–१९ को असरले राज्यमा लकडाउनको स्थिति सृजना गरेकाले हामी अत्यन्तै कठिन स्थितिमा पुग्यौ । बर्षौ सम्म बस संचालन गर्न नसकि त्यसै ग्यारेजमा थन्क्याउनु पर्ने बाध्यात्मक अबस्थाको सृजना भयो । यो समस्या हाम्रो मात्रै नभै यातायात संग सम्बन्धित सबै कम्पनीको हो भन्ने हामी सबैलाई थाहा नै छ । यस कार्यक्रम राम्रो संग संचालन हुन नसक्नु परिस्थिति जन्य कारण हो भनेर बुझि दिनु हुन हार्दिक अनुरोध गर्दछु । यसबाट हामीले नयाँ अनुभव लिएका छौ ।